काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणका म्याचहरू सकिएका छन् । समूह चरणका अधिकांश म्याचहरू लो स्कोरिङ भए पनि पीचको अवस्था हेरेर ब्याटिङ गर्ने स्वदेशी र विदेशी ब्याटरहरू राम्रो छाप छोड्न सफल भए ।
समूह चरणमा नेपाली ब्याटरहरूको प्रदर्शन सुखद रहेको छ । महँगो मूल्यमा खरिद गरेर ल्याइएको विदेशी स्टारहरूको हाराहारीमै देखिए घरेलु खेलाडी । समूह चरण सकिँदासम्म सर्वाधिक रन बनाउने शीर्ष १० ब्याटरमा पाँच नेपाली र पाँच विदेशी खेलाडी परेका छन् ।
४ म्याच मात्र खेलेका पोखरा एभेन्जर्सका युवराज सामरा २९४ रनसहित सर्वाधिक रन बनाउने ब्याटरको शीर्ष स्थानमा छन् । उनले चार खेलमा ७३.५० को औसत र १७९.२६ को स्ट्राइक रेटमा रन बनाएका छन् ।
कठिन कन्डिसनमा पनि विस्फोटक ब्याटिङ गर्दै उनले एक शतक र दुर्ई अर्धशतक बनाए । पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएकाले साम्राको यात्रा भने समाप्त भइसकेको छ ।
विराटनगर किंग्सका लोकेश बम २४२ रनसहित दोस्रो स्थानमा छन् । उनी अहिलेसम्म सर्वाधिक बनाउने घरेलु ब्याट्सम्यान हुन् । सात खेलमा ३४.५७ को औसत र १४२.३५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनको उच्च स्कोर ८७ रन हो । उनले दुर्ई अर्धशतक प्रहार गरे । सर्वाधिक छक्का भने लोकेशको नाममा छ । उनले समूह चरणमा १८ छक्का हानेका छन् । विराटनगर पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखराकै कुशल भुर्तेल २३५ रनसहित तेस्रो स्थानमा छन् । सात खेलमा ३३.५७ को औसत र १४८.७३ को स्ट्राइक रेटमा खेलेका कुशलले दुर्ई अर्धशतक प्रहार गरे । हिजो भएको खेलमा उनी कीर्तिमानी शतक बनाउन एक रनले चुके । भुर्तेलले समूह चरणमा १५ छक्का हानेका छन् ।
कर्णाली याक्सका राशिद खान १८६ रनसहित चौथो स्थानमा छन् । यसअघि बलिलङ अलराउण्डरको रूपमा चिनिँदै आएका रसिदले ब्याटबाट छाप छोड्न सफल भए । उनले सात खेलमा ३७.२० को औसत र १४१.९८ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनले दुर्ई अर्धशतक प्रहार गरे । यही प्रदर्शनका बलमा उनी एसीसी राइजिङ स्टार कपका लागि राष्ट्रिय टोलीमा पर्न सफल भएका छन्।
चितवन राइनोजका रवि बोपारा १८४ रनसहित पाँचौँ स्थानमा छन् । चितवनको कप्तानी समेत गरेका उनले पाँच खेलमा ४६ को औसतमा रन बनाएका छन् । उनको उच्च स्कोर ५५ रन हो । बोपाराले लगातार तेस्रो सिजन चितवनबाट खेलेका हुन् ।
कर्णाली याक्सका अरिफुल इस्लाम १८२ रनसहित छैटौँ स्थानमा छन् । उनले सात खेलमा १८२ को उच्च स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । उनले हरेक म्याचमा विस्फोटक शुरूवात गरे पनि ठूलो स्कोर बनाउन भने असफल रहे । उनको उच्च स्कोर ४४ रन हो । स्ट्राइक रेटका हिसाबले उनी शीर्ष १० का ब्याटरमध्ये निकै आक्रामक देखिएका छन् ।
कर्णालीकै अलराउन्डर पवन सर्राफ १६७ रनसहित सातौँ स्थानमा छन् । पवनले पनि एनपीएलमा गरेको प्रदर्शनकै बलमा राष्ट्रिय टिमको ढोका ढक्ढकाए । राइजिङ कपमा स्थमन बनाउन सफल भए । पवनको स्ट्राइक रेट भने कमजोर रह्यो ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी १५० रनसहित आठौँ स्थानमा छन् । उनले दुर्ई अर्धशतक प्रहार गरेका छन् । प्लेअफमा अझै उत्कृष्ट प्रदर्शन गरेर आँकडा सुधार्ने अवसर उनीसित छ ।
चितवन राइनोजका इंग्लिस ब्याटर डाविड मलान १४९ रनसहित नवौँ स्थानमा छन् । उनले चार खेलमा ४९.६६ को औसतमा रन बनाएका छन् । उनको उच्च स्कोर ७० रन हो ।
लुम्बिनी लायन्सका अस्ट्रेलियन ब्याटर डार्सी सर्ट १४८ रनसहित दशौँ स्थानमा छन् । उनले ६ खेलमा २४.६६ को औसत र १४२.३० को स्ट्राइक रेटमा रन बनाएका छन् ।
समूह चरणमा सर्वाधिक रन बनाउने शीर्ष १० ब्याटर
१. युवराज सामरा (पोखरा) – २९४ रन
२. लोकेश बम (विराटनगर) – २४२ रन
३. कुशल भुर्तेल (पोखरा) – २३५ रन
४. राशिद खान (काठमान्डु) – १८६ रन
५. रवि बोपारा (चितवन) – १८४ रन
६. अरिफुल इस्लाम (कर्णाली) – १८२ रन
७. पवन सर्राफ (कर्णाली) – १६७ रन
८. दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम) – १५० रन
९. डेविड मलान (चितवन) – १४९ रन
१०. डार्सी सर्ट (लुम्बिनी) – १४८ रन