पर्सा – पकाहा मैनपुर गाउँपालिका–४, श्यामपुर भेलाहामा बुवाको दाहसंस्कार सम्पन्न गरी घर फर्किने क्रममा पोखरीमा नुहाउन गएका परिवारका सदस्यहरूमाथि सामूहिक कुटपिट घटनामा पाँच जना घाइते भएका छन्।
पीडित पक्षका अनुसार २०८३ साल कात्तिक ३० गते साँझ करिब ५:३० बजे ७५ देखि ८० वर्ष उमेरका बुवाको प्राकृतिक रूपमा निधन भएपछि परिवारका सदस्य, आफन्त तथा गाउँलेहरूको उपस्थितिमा दाहसंस्कार गरिएको थियो।
दाहसंस्कार सम्पन्न गरी साँझ घर फर्किने क्रममा गाउँकै पोखरीमा नुहाउन जाँदा केही व्यक्तिहरूले मृतक बुवाको नाम लिएर अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको पीडित पक्षको आरोप छ। आफूहरूले मृतक व्यक्तिलाई किन गाली गरेको भन्दै प्रश्न गरेपछि विवाद बढेको उनीहरूको भनाइ छ।
पीडित पक्षका अनुसार विवादले उग्र रूप लिँदा विपक्षी समूहका व्यक्तिहरूले लाठी, बाँस, बेल्ट तथा मोटरसाइकलको सोकरलगायतका वस्तु प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणबाट टाउको, ढाड, छाती, हात तथा खुट्टामा चोट लागेको पीडित पक्षले जनाएको छ।
उक्त घटनामा वीरेन्द्र साह, राजन साह, ओमप्रकाश साह, जपा साह र श्रवण साह घाइते भएका छन्। उनीहरूको हाल वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको पीडित पक्षले जनाएको छ।
पीडित पक्षले बृजमोहन साह, किशोरी साह, मुरारी साह, सत्रोहन साह, शनिदेवल साह, रामबाबु साह, धनजय साह, सुनिल साह, भीम साह, उमेश साह र सुमन्त साहलगायतका व्यक्तिहरू घटनामा संलग्न रहेको आरोप लगाएको छ। यद्यपि, घटनामा उनीहरूको संलग्नता सम्बन्धित निकायको अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
घटनापछि परिवारमा थप समस्या उत्पन्न भएको छ। बुवाको किरिया तथा अन्य धार्मिक संस्कार सम्पन्न गराउने पुरुष सदस्यहरू नै घाइते भई अस्पतालमा उपचाररत रहेकाले क्रियाकर्म सञ्चालन गर्नसमेत कठिनाइ भइरहेको पीडित परिवारले जनाएको छ।
यसअघि घटनाबारे जानकारी गराउँदा इलाका प्रहरी कार्यालयमा फोन गरी प्रहरी बोलाइएको र प्रहरी निरीक्षक घटनास्थल पुगेको पीडित पक्षले जनाएको छ। प्रहरी निरीक्षकसँग भएको कुराकानीमा घटनाको कारण दुवै पक्षबीच पुरानो रिसइबी रहेको र विवाद भएको बुझिएको पीडित पक्षको भनाइ छ। साथै, लिखित जाहेरी प्राप्त भएपछि कानुनी प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षकले बताएको उनीहरूले जानकारी दिएका छन्।
पीडित पक्ष आज सम्बन्धित प्रहरी कार्यालयमा लिखित जाहेरी दर्ता गराउन जाने तयारीमा रहेको छ।
पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न तथा घाइतेहरूको सुरक्षा र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।