वीरगंज, ४ मंसिर । पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जशवन्त यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन्।
यादवले कार्यकाल बाँकी छँदै दल परिवर्तन गरेका हुन्।रोचक के छ भने, अध्यक्ष यादव काठमाडौँमा सम्पन्न नेकपा (एमाले) को राष्ट्रिय भेलामा सहभागी हुन सङ्घीय राजधानी पुगेका थिए। तर, आफ्नै पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ गएकै बेला उनले हिजै रास्वपाको अनलाइनमार्फत सदस्यता लिएको खुलेको छ।
यस विषयमा आधिकारिक धारणा र थप जानकारी लिन अध्यक्ष यादवसँग पटक–पटक टेलिफोन सम्पर्क गर्ने प्रयास गरिए पनि उनीसँग सम्पर्क स्थापित हुन सकेको छैन।
एमालेको भेलामा पुगेका पालिका प्रमुखले अचानक रास्वपाको सदस्यता लिएपछि पर्साको स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।अब उनको पद के हुन्छ ? के भन्छ नेपालको कानुन? निर्वाचित जनप्रतिनिधिले कार्यकाल बाँकी छँदै आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलको सदस्यता लिएमा उनको पद के हुन्छ भन्ने विषयमा नेपालको कानुनले स्पष्ट व्यवस्था गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरेमा वा अर्को दलको सदस्यता लिएमा उनको पद स्वतः रिक्त हुने कानुनी प्रावधान छ।
अध्यक्ष यादवले रास्वपाको सदस्यता लिएको प्रमाणसहित नेकपा (एमाले) को केन्द्रीय समितिले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको निर्णयको प्रतिलिपि निर्वाचन आयोगमा पठाउनुपर्नेछ। सम्बन्धित दल (एमाले) बाट दल त्यागसम्बन्धी औपचारिक पत्र प्राप्त भएपछि निर्वाचन आयोगले छानबिन गरी सार्वजनिक सूचनामार्फत सखुवा प्रसौनी गाउँपालिका अध्यक्षको पद रिक्त भएको घोषणा गर्नेछ।
आयोगले हिजोमात्रै (मंसिर ३ गते) दल त्याग गरेका जसपा नेपालका १८ जना स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त भएको सूचना जारी गरेको थियो। कानुनी व्यवस्थाअनुसार, यदि नेकपा (एमाले) ले औपचारिक रूपमै दल त्यागको कारबाही अघि बढाएर निर्वाचन आयोगमा पत्राचार गरेमा अध्यक्ष यादवको बाँकी कार्यकालको पद गुम्ने निश्चित देखिन्छ। यद्यपि, यदि उनले रास्वपाको अनलाइन सदस्यता अस्वीकार गरे वा एमालेले कारबाहीको प्रक्रिया अघि नबढाएमा भने तत्काल उनको पद यथावत् रहनेछ।