वीरगंज ३ मंसिर । पत्रकार राजन कुमार सिंह र उनका भाई दिपन कुमार सिंहलाई उनकै गाउँका केही युवकहरुले कात्तिक ३० गते राति कुटपिट गरी घाईते बनाएकोमा हालसम्म प्रहरीले दोषीहरुलाई पक्राउ नगरी पिडकहरुलाई राहत दिएकोमा पिडित सिंह थप पिडामा रहेका छन् ।
दैनिक जागरण पत्रिकाका सम्पादक समेत रहेका राजन कुमार सिंह प्रेस चौतारी नेपाल तथा नेपाल पत्रकार महासंघ पर्साका सदस्य पनि हुन् । ३० गते भएको घटनामा हालसम्म प्रहरीले दोषीलाई पक्राउ नगरेको र राजन कुमार सिंह माथि भएको आक्रमणको घटना प्रति चासो देखाउदै प्रेस चौतारी नेपाल पर्साले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारी नेपाल पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाही निवासी भुलन भन्ने प्रितम कुमार सर्राफ, नरेश भन्ने चन्दन कुमार सर्राफ, गणेश भन्ने रवि कुमार सर्राफ, उमेश भन्ने राजन सर्राफ र राकेश कुमार सर्राफले संयुक्त रूपमा सिंहहरु माथि आक्रमण गरेका थिए ।
सो आक्रमणबाट पत्रकार राजन कुमार सिंहको शरिरको विभिन्न ठाउँमा निलडाम रहेको र उनको मुखमा गम्भीर चोटपटक लागेको छ भने उनका भाई दिपन कुमार सिंहको शरिरको विभिन्न ठाउँमा निलडाम रहेको छ भने उनको दाँया खुट्टा भाँचिएको छ । तर पनि प्रहरीले कानमा तेल हालेर सुत्नुले पिडितलाई थप पिडा भएको छ ।
कात्तिक ३० गते सोमबार राति करिब ९ः३० बजे भेडियाही गाउँ देखि हनुमान चौक जाने बाटो नजिक सिंह माथि एक्कासि आक्रमण गरी ज्यानै जाने गरि कुटपिट गरिएको थियो ।
सो घटना व्यक्तिगत रिसइबीका कारण भएको भए पनि प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार माथि भएको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पत्रकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय सँग माग गरिएको छ ।