पर्सा , कार्तिक २५ –
बिरयानीमा साङ्लो भेटिएको भिडियो सार्वजनिक भएपछि वीरगंजको छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा होटलको भान्सा तथा परिसरमा सरसफाइको कमी, दहीमा किरा र मासु सडेको अवस्थामा फेला परेको थियो।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै सञ्चालकलाई जरिवाना गरिएको प्रशासनले जनाएको छ।
अनुगमन टोलीले तत्काल सरसफाइमा सुधार गर्न तथा खाद्य सामग्री सुरक्षित राख्न निर्देशन दिँदै सात दिनभित्र प्रशासन कार्यालयमा सम्पर्क गर्नसमेत भनेको छ।
साभार:
घण्टाघर टिभी