कलैया । लोकआस्था र सांस्कृतिक एकताको प्रतीक छठ महापर्वको पावन अवसरमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज बारा जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरी पूजाअर्चना तथा दर्शन गर्नुभएको छ।
सभामुख अर्यालले आज सोमबार बिहान कलैयास्थित रामजानकी मन्दिरको छठ घाट र प्रसिद्ध गढीमाई मन्दिरमा पुगेर पूजाअर्चना तथा दर्शन गर्नुभएको हो।
अरविन्द साहको सचिवालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार सभामुख अर्याल बिहान ५:३० बजे रानीघाट पुगेर छठ घाटको अवलोकन गर्नुभएको थियो। त्यसपछि बिहान ६:२५ बजे कलैयास्थित रामजानकी छठ घाटको अवलोकन गरी बिहान ७:१५ बजे प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्नुभएको हो।
सोही क्रममा सभामुख अर्यालले बिहान ८:१५ बजे शहीद स्मारकको समेत अवलोकन गर्नुभएको सचिवालयले जनाएको छ। छठ पर्वको अवसरमा आयोजित उक्त दर्शन तथा भ्रमण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।