सिन्धुली , मङ्सिर १ –
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक धनुषाको शहीदनगर नगरपालिका–८ का दीपक कुमार दाससहित १४ जना घाइते भएका छन्। घाइतेमध्ये नौ जनाको नाम खुलेको छ।
घाइते हुनेमा शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानी कुमारी मण्डल, वडा नम्बर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन्।
त्यस्तै, ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह र ३ वर्षीया ओमी साह पनि घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ। बाँकी पाँच जना घाइतेको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।