काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । यतिबेला उनको भ्रमणको चर्चा दुवै देशमा भइरहेको छ ।
जेनजी आन्दोलनपछि भएको चुनावबाट झण्डै दुई तिहाइ बहुमतको सरकारलाई नेतृत्व गर्ने बालेनप्रति नेपालमा मात्र होइन, भारतलगायत अन्य देशमा पनि चासो रहेकाले उनको भ्रमणबारे चर्चा हुनु स्वाभाविक रहेको जानकारहरु बताउँछन् । भारतले पनि विगतभन्दा यसपटक विश्वास जगाएको छ र सम्झौताहरु द्रुतगतिमा अगाडि बढाउने भएकाले पनि विगतको भ्रमणभन्दा यो फरक हुने देखिएको उनीहरुको तर्क छ ।
विगतका प्रधानमन्त्रीले जस्तो बालेनले तामझाम नगर्ने भएका छन् । विगतमा नेपालका प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूतहरुसँग छलफल गर्थे । तर बालेनले त्यो परम्परा अन्त्य गरेका छन् । उनले कसैसँग छलफल गरेरनन् । आफ्नो टिम र परराष्ट्र मन्त्रालयसहित अन्य मन्त्रालयका मन्त्रीहरुसँग छलफल गरेर उनले भ्रमणको तयारी गरे ।
जानकारहरुका अनुसार विगतमा प्रधानमन्त्रीहरुले भ्रमण गर्दा कामभन्दा बढी कुरा गर्थे, तर प्रधानमन्त्री बालेनले कार्यान्वयनमा ल्याउने विषयलाई मात्र महत्त्व दिने गरेका छन् । त्यही अनुसार तयार भएर उनी भ्रमणमा जान लागेका छन् । यसअघिका प्रधानमन्त्रीहरुले भारत भ्रमणको क्रममा गरेका धेरैजसो सम्झौता कर्यान्वयमा आएका छैनन् । प्रधानमन्त्री बालेनले कार्यान्वयन हुने गरी सम्झौता गर्ने जोड दिएका छन् । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासँगको भेटमा पनि उनले थोरै एजेण्डामा कुरा गर्ने र त्यसलाई कार्यान्वयन हुने गरी अगाडि बढाउने प्रस्ट पारेका थिए ।
नेपाल–भारतका जानकार एवं भारतका प्राध्यापक एस.डी मुनीले नेपालको वर्तमान सरकार शक्तिशाली सरकार रहेको जिकिर गर्दै यसले लिने निर्णय सबैका लागि चासोको विषय रहेको बताए । ‘बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर भारतलाई चुनौती दिएका थिए । काठमाडौँमा हिन्दी फिल्म चलाउनमा रोक लगाएका थिए । प्रधानमन्त्री बनेपछि कुनै पनि देशको भ्रमण नगर्ने, राजदूतसँग एक्लै भेट्न मानेका थिएनन्,’ उनले भने, ‘आज त्यही प्रधानमन्त्री भारत भ्रमणका लागि तयार भएका छन् । यसले पनि यो भ्रमण चासोको विषय बनेको छ ।’
जेनजी आन्दोलनबाट उदाएका नयाँ फेसका प्रधानमन्त्री भएकाले पनि धेरैको चासो उनीप्रति रहेको प्राध्यापक मुनीले बताए । नेपाल-भारतबिच धेरै एजेण्डा पुरानै रहेको र यी एजेण्डामा छलफल, बहस हुँदै आएको चर्चा गर्दै उनले यसपटक राजनीतिक दल र व्यक्ति फरक भएका कारण अलि बढी चर्चा भइरहेको बताए ।
पूर्वराजदूत विजयकान्त कर्णले दुई देशको बिचमा विश्वासको वातावरण निर्माण हुनु नै विगतको भ्रमणभन्दा फरक देखिएको बताए । ‘जेनजी आन्दोलनपछि बनेको यो नयाँ सरकारले विगतभन्दा फरक ढंगको सम्बन्ध भारतसँग राख्न चाहेको कुरा सरकारका मन्त्रीदेखि नेताहरुले स्पष्ट पारिसकेका छन्,’ उनले भने, ‘केही समय पहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा गएको बेला नेपालमा अब भारत विरोधी भावनाको अन्त्य भएको अभिव्यक्ति दिएका थिए । यस्तो हिम्मत यसअघिका कुनै पनि सरकारका मन्त्रीले गरेका थिएनन् । यसले झन अहिलेको सरकारप्रति भारतको विश्वास बढेको छ ।’
पूर्वराजदूत कर्णले एक अर्काप्रति विश्वास बढेको कारण केही सम्झौताहरुमा ब्रेक थ्रु हुनसक्ने सम्भावना औँल्याए ।
उनले प्रधानमन्त्री बालेनको भ्रमणलाई लिएर नेपालभन्दा भारत बढी उत्साहित देखिएको बताए । ‘दक्षिण एसियामै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीको भ्रमण भइरहेको छ, त्यसले गर्दा भारत सरकार र त्यहाँ जनतामा पनि एक खालको उत्साह छ,’ उनले भने, ‘भारतीय युवामा प्रधानमन्त्री बालेनको क्रेज छ । पहिला पनि नेपालका प्राधनमन्त्रीको भारत भ्रमण हुन्थ्यो, तर त्यसको चर्चा भारतमा खासै हुँदैनथ्यो । यसपटक भारतमा पनि प्रधानमन्त्री बालेनको भ्रमणको चर्चा छ । त्यहाँ पनि विभिन्न कोणबाट विश्लेषण र बहस भइरहेका छन् ।’
अर्का पूर्वराजदूत टंक कार्कीले शक्तिशाली सरकारका प्रधानमन्त्री भएकाले बालेनको भ्रमणको चर्चा भइरहेको बताए । शक्तिशाली एकल सरकार भएकाले भ्रमणको क्रममा एजेण्डाहरुमा छलफल गर्दा कसैसँग सल्लाह गर्नु नपर्ने, प्रधानमन्त्री आफैँले निर्णय गर्न सक्ने भएकाले पनि भारत भ्रमण चर्चामा रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री बालेन थोरै विषयमा कुरा गर्ने र त्यसलाई कार्यान्वयमा ल्याउने गरी छलफल गर्ने मनस्थितिमा रहेको कारण पनि भ्रमणको चर्चा भइरहेको उनले बताए । उनले भने, ‘मुख्य कुरा जेनजी आन्दोलनपछि बनेको नयाँ अनुहारका प्रधानमन्त्री र रास्वपासँग भारतले विशेष सम्बन्ध बनाउन चाहेको छ, विश्वास कायम गर्न चाहन्छ । त्यसैले पनि भारतले भ्रमणलाई महत्त्व दिएको हो ।’
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेशन एण्ड इंगेजमेन्टका अनुसन्धान निर्देशक प्रमोद जयसवालले विगतमा भएका भ्रमण र यो भ्रमणमा खासै कुनै अन्तर नरहेको बताए । उनले भने, ‘विगतकै भ्रमणको निरन्तरता हो । पहिला र अहिलेको भ्रमणमा कुनै अन्तर छैन, कुनै कुराको ब्रेक थ्रु हुने छैन ।’
प्रधानमन्त्री बालेनले अन्य प्रधानमन्त्रीका भ्रमणभन्दा आफ्नो भ्रमण छोटो बनाएको र भ्रमणको क्रममा धेरै भेटघाट तथा दृश्य अवलोकन नगर्ने विषयमात्र नयाँ र फरक रहेको उनको भनाइ छ ।