वीरगंज, ०१ मंसिर –
बाराको निजगढमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
आइतबार साँझ करिब ५ः२० बजे निजगढ नगरपालिका–११ स्थित बम्जन टोलको भित्री सडकखण्डमा रतनपुरबाट कोल्हवीतर्फ जाँदै गरेको प्रदेश ०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कोल्हवी नगरपालिका–७ दोधर्पाका २३ वर्षीय चालक जंगी सहनी र पछाडि सवार २४ वर्षीय राहुल सहनी घाइते भएका थिए। दुवैलाई उपचारका लागि वीरगन्जस्थित अस्पताल लगिएकोमा राहुलको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालक जंगी सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।