वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र प्याब्सन वीरगञ्जको संयुक्त आयोजनामा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ ।
विद्यार्थीहरूमा नेपाली कला, संस्कृति, मौलिक पहिचान तथा लोकपरम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिता आगामी पुस १ गते बिहान १० बजे वीरगञ्जस्थित टाउनहलमा आयोजना हुनेछ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रस्तुति दिनेछन् ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले लोकनृत्य प्रस्तुत गर्नुपर्नेछ भने प्रत्येक प्रस्तुतिको समयावधि न्यूनतम ४ मिनेटदेखि अधिकतम ५ मिनेटसम्म निर्धारण गरिएको छ ।
विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्नुका साथै विभिन्न जातजाति, भाषा, भेसभुसा र संस्कृतिसँग सम्बन्धित लोककला तथा परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
‘हाम्रो कला, हाम्रो पहिचान, लोकनृत्य हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मकता, सांस्कृतिक चेतना र आफ्नो मौलिक पहिचानप्रतिको सम्मान अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।