वीरगंज, कार्तिक २८ –
दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व तराई–मधेशमा सुरु भएको छ।
कात्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म मनाइन्छ भने एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ।
पर्वका अवसरमा दिदीबहिनी तथा छोरीबुहारीले समूह बनाएर परम्परागत गीत गाउँदै सामा र चकेवाका आकृति बनाउने, दियो बाल्ने र रातभर नाचगान गर्ने परम्परा छ। यस अवसरमा दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गरिन्छ।
पर्वको अन्तिम दिन दाजुभाइलाई दहीचिउरा खुवाएर परम्परागत विधिअनुसार सामाचकेवा फुटाई बाजागाजासहित विसर्जन गर्ने चलन रहेको जानकार पण्डित रामकुमार शास्त्रीले बताए।
मधेश प्रदेशका पर्सा, बारा, महोत्तरी, सर्लाही, सिरहा, धनुषा र सप्तरीसहित सीमावर्ती भारतीय जिल्लाहरूमा पनि यो पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ।