वीरगंज- दुई गाउँबीच छठ घाटमा हुँदै आएको चोङा–हर्न डिजे प्रतिस्पर्धा बन्द गराउने प्रहरीको निर्देशन अटेर गरेपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ।
हिजो साँझ प्रहरीले बन्द गराएको प्रतिस्पर्धा आज बिहान पुनः सञ्चालन गरिएको जानकारी पाएपछि डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा प्रहरी टोली सम्बन्धित छठ घाटमा पुगेको थियो।
प्रहरी टोलीले वीरगंज महानगरपालिका–१९ बर्वास्थित छठ घाटबाट २ जना र वडा नम्बर १७ को कोनियास्थित छठ घाटबाट ३ जनालाई नियन्त्रणमा लिएको छ। दुवै स्थानबाट चोङा–हर्नलगायत सम्पूर्ण उपकरणसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
दुई गाउँबीच शान र प्रतिष्ठाको विषयका रूपमा हुँदै आएको चोङा–हर्न प्रतिस्पर्धामा अत्यधिक चर्को आवाजमा डिजे बजाउँदा छठ घाटमा पूजा गर्न आउने व्रतालु, वृद्धवृद्धा, बालबालिका तथा आसपासका स्थानीय बासिन्दालाई समस्या भइरहेको गुनासो आएको थियो। धार्मिक अनुष्ठान र पूजापाठमा समेत बाधा पुगेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढेको थियो।
नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा बरामद सामग्रीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।