काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा तथा पदस्थापन लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
विभागमा कार्यरत उच्च पदस्थ कर्मचारीहरूले सेवा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै आयोगमा उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दा प्रमुख अनुसन्धान अधिकृत चौधरीले भारतको ‘बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल’ बाट जारी भएको देखिने आईए तहका झुट्टा कागजात पेस गरेको पाइएको आयोगले जनाएको छ।
चौधरीले बढुवा तथा पदस्थापन प्रयोजनका लागि नक्कली मार्कसिट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र तथा माइग्रेसन सर्टिफिकेट लगायतका कागजातहरू प्रयोग गरेका थिए। ती झुट्टा प्रमाणपत्रका आधारमा उनले विभागको राजपत्र द्वितीय श्रेणीको प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा र पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारको ठहर छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको हो। उनीमाथि साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिइएको छ।