वीरगंज , कार्तिक २८ –
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हजारौँ शहीद र कार्यकर्ताको त्यागबाट बनेको कांग्रेसलाई कसैले बन्दी बनाउन नसक्ने बताएका छन्।
शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा अब केही पाउनु नरहेको भन्दै जीवनको अन्तिम साससम्म पार्टीको हित र संरक्षणका लागि लडिरहने बताए।
पार्टी र कार्यकर्ताको विश्वासकै कारण आफू पाँच पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले कांग्रेसको इतिहास, विचार र अस्तित्व कसैले समाप्त पार्न नसक्ने धारणा राखे। साथै, पार्टीभित्र एकता कायम राख्न पनि उनले आग्रह गरे।
सम्बोधनका क्रममा देउवाले जेन–जी आन्दोलनका बेला कांग्रेस र एमालेका नेताहरू तथा उनीहरूका घरलाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोपसमेत लगाए। आफ्नो घर, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुर्ख्यौली घरसमेत जलाइएको उनको भनाइ थियो।
विद्यार्थी राजनीतिदेखि नै प्रजातन्त्रका लागि संघर्ष गरेको स्मरण गर्दै देउवाले साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको पनि बताए।