वीरगन्ज, ४ मंसिर। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफू सधैँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकहित र अधिकारको पक्षमा उभिँदै आएको बताएका छन्। उनले उक्त समुदायको सुखदुःखमा आफू सदैव साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
सहयात्री समाज वीरगन्जले वीरगन्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजना गरेको ‘समावेशी स्थानीय नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मेयर सिंहले यस्तो बताएका हुन्।
उनले महानगरपालिकाको विशेष अधिवेशनबाट समेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि बजेट विनियोजन गरिएको जानकारी दिए। आफूले आश्वासनभन्दा पनि व्यवहारमा काम गरेर देखाउने विश्वास राख्ने उल्लेख गर्दै उनले भने, “म यो समुदायको सुखदुःखमा सधैँ साथमा छु र आगामी दिनमा पनि साथमै रहनेछु।”
समाजका केही नकारात्मक सोच भएका व्यक्तिका कारण यस समुदायका सदस्यले गलत अफवाह, लाञ्छना र विभेदको सामना गर्नुपरेको उल्लेख गर्दै सिंहले यस्ता परिस्थितिबाट निराश नहुन आग्रह गरे। आफू विभिन्न चुनौती पार गर्दै पुनः महानगर प्रमुखको जिम्मेवारीमा फर्किएको प्रसङ्ग उल्लेख गर्दै उनले अप्ठ्यारो परिस्थितिमा पनि आत्मविश्वास कायम राख्न समुदायका सदस्यलाई आग्रह गरे।
समुदायका सदस्यले अनेकौँ दुःख र चुनौतीका बीच पनि समाजमा हाँसीखुसी प्रस्तुत हुने व्यवहारले सकारात्मक ऊर्जा प्रवाह गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा सहयात्री समाज वीरगन्जका संयोजक सुरज लिम्बुले कार्यक्रमको उद्देश्य, पर्सा जिल्लामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वर्तमान अवस्था तथा उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे जानकारी गराएका थिए।
कार्यक्रममा समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिक सहभागितामा देखिएका विभेद तथा चुनौतीबारे सहभागीहरूले धारणा राखेका थिए। पर्सामा पछिल्लो तथ्याङ्कअनुसार करिब १ हजार ४ सय जना एचआईभी संक्रमित रहेको जानकारी दिँदै वक्ताहरूले संक्रमितको परीक्षण, उपचार तथा औषधोपचारका लागि पर्याप्त बजेट र आवश्यक पूर्वाधारको अभाव रहेको बताए।
त्यसैगरी, निःशुल्क कन्डम वितरणका लागि समेत बजेट अभाव रहेको तथा अन्य स्वास्थ्य सेवा र उपचारमा पनि कठिनाइ भइरहेको उनीहरूको भनाइ थियो।
कार्यक्रमका अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार, सम्मान र समावेशी सहभागिता सुनिश्चित गर्न पर्सा तथा वीरगन्जमा गर्नुपर्ने आवश्यक काम र स्थानीय सरकारको जिम्मेवारी समेटिएको प्रतिबद्धतापत्रसमेत जारी गरिएको थियो। उक्त प्रतिबद्धतापत्र प्रमुख अतिथि सिंहलाई हस्तान्तरण गरिएको थियो।
सन्जु महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ममताले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका रितेश कर्ण, नारायणी अस्पतालकी हेमा थापालगायत स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।