बारा । बिश्रामपुर गाउँपालिका । छठ पर्वको पावन अवसरमा बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं. २ का सामाजिक अभियन्ता सुजित यादवले यस वर्ष पनि आफ्नो सामाजिक सेवाकार्यलाई निरन्तरता दिएका छन्।
विगतका वर्षहरूमा बरैनिया छठ घाटमा नरिवल वितरण गर्दै आएका यादवले यस वर्ष भने बिश्रामपुर गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न छठ घाटहरूमा पुगेर कुल ८०० थान नरिवल वितरण गरेका छन्।
यादवले बरैनिया बजार, बलवरिया तथा कान्तिपुरस्थित छठ घाटहरूमा पुगेर छठ व्रतालु तथा श्रद्धालु भक्तजनहरूलाई नरिवल वितरण गरेका हुन्।
धर्म, संस्कृति र परम्पराप्रतिको सम्मानसँगै सामाजिक सेवाको भावना बोकेर गरिएको यस कार्यले स्थानीय श्रद्धालुहरूमा खुसी थपेको छ। हरेक वर्ष निरन्तरता दिँदै आएको यस सेवाकार्यले समाजमा आपसी सद्भाव, सहयोग र मानवीयताको सन्देश दिएको छ।
सामाजिक अभियन्ता यादवले आगामी दिनहरूमा पनि आफ्नो गाउँपालिका तथा समाजमा यस्ता सामाजिक र मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।