वीरगंज, कार्तिक २८ –
वीरगंज महानगरपालिकास्थित स्विमिङ पुल छठघाटमा छठ पर्वको तयारी पूरा भएको छ। छठ पूजा व्यवस्थापन समितिले घाटको सजावट तथा आवश्यक व्यवस्थापकीय तयारी सम्पन्न गरेको जनाएको छ।
समितिका अध्यक्ष नन्दुप्रसाद ठाकुरका अनुसार छठघाटमा सीसीटीभी र ड्रोन क्यामराबाट निगरानी गरिनेछ। साथै, सुरक्षा तथा व्यवस्थापनका लागि ५० जना स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिनेछ।
घाट व्यवस्थापनमा ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको अध्यक्ष ठाकुरले बताए। उक्त रकम दाता, सहयोगी तथा चिट्ठा कार्यक्रममार्फत जुटाउने लक्ष्य राखिएको छ।
सहयोग संकलनका लागि आयोजना गरिएको चिट्ठामा इलेक्ट्रिक साइकल, टेलिभिजन, फ्रिज, साइकल र टिफिन बक्सलगायतका उपहार राखिएको उनले जानकारी दिए।
यस वर्ष घाटमा करिब ५०० जना व्रतालुको सहभागिता रहने अनुमान गरिएको छ। सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै समितिले बीमाको व्यवस्थासमेत गरेको जनाएको छ।
स्विमिङ पुल छठघाटमा विगत १७ वर्षदेखि निरन्तर छठ पूजा हुँदै आएको छ।