पर्सा , मङ्सिर २ –
चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३ दशमलव ३७ प्रतिशत मात्रै खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । यसमध्ये चालूतर्फ ३ खर्ब ४६ अर्ब ७५ करोड अर्थात् २७ दशमलव २९ प्रतिशत खर्च भएको छ ।
यस्तै, विकास निर्माणसँग जोडिएको पूँजीगत खर्च भने ३२ अर्ब ४४ करोड रुपैयाँ अर्थात् ७ दशमलव ५३ प्रतिशत मात्रै भएको छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ अर्थात् २७ दशमलव ७६ प्रतिशत खर्च भएको छ ।
सरकारले वार्षिक १६ खर्ब ४२ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकामा पहिलो चार महिनामा ३ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ अर्थात् २३ दशमलव ३९ प्रतिशत आम्दानी गरेको छ ।
त्यस्तै, १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ३ खर्ब ७२ अर्ब ७१ करोड अर्थात् २३ दशमलव ५८ प्रतिशत सङ्कलन भएको छ ।
यस अवधिमा ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य रहेकामा ८ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १४ दशमलव ५ प्रतिशत मात्रै प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आम्दानी र खर्चको अवस्था झन्डै समान देखिए पनि विकास निर्माणका लागि छुट्याइएको पूँजीगत बजेट खर्चको गति भने सुस्त रहेको छ ।