पर्सा, कार्तिक २५ –
तराई–मधेसका विभिन्न जिल्लामा दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्दै गोधन कुट्ने पर्व तथा भैयादुज आज हर्षोल्लासका साथ मनाइँदैछ ।
तिथि र स्थानीय परम्पराअनुसार कतिपय स्थानमा मंगलबार नै गोधन कुटिएको छ भने केही ठाउँमा बुधबार बिहान सामूहिक रूपमा पर्व मनाइएको छ । यस अवसरमा महिलाहरूले गाईको गोबरबाट वेदी तथा मानव आकृति बनाएर मूसलले प्रतीकात्मक रूपमा गोधन कुट्ने र परम्परागत गीत गाउने गर्छन् ।
गोधन कुट्ने क्रममा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुरक्षाको कामना गर्ने धार्मिक विश्वास छ । यसैगरी पशुधनको रक्षाका लागि धान, सिन्दूर, फूल, दुबो र पिठारको मिश्रण प्रयोग गर्ने परम्परा पनि रहेको छ ।
भैयादुजका अवसरमा दिदीबहिनीले दाजुभाइलाई निमन्त्रणा गरी निधारमा पिठार लगाएर पान, सुपारी, फूल, काँचो केराउ र मिठाई खुवाउने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई कपडा, गरगहना तथा दक्षिणा दिएर स्नेह प्रकट गर्ने चलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २४ गते गोवर्धन पूजा र २५ गते भैयादुज परेको छ । तिथि र स्थानीय परम्पराका कारण पर्व मनाउने दिनमा केही भिन्नता देखिएको ज्योतिषीहरूले बताएका छन् ।
यी मौलिक पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई थप बलियो बनाउँदै आएका छन् ।