वीरगंज, असोज १७ –
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) को तेस्रो मधेश सम्मेलन शनिबारदेखि वीरगंजमा सुरु भएको छ। सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा आयोजित सम्मेलनको मधेश प्रदेशका सभामुख रामअशिष यादवले उद्घाटन गरेका हुन्।
सम्मेलनमा मधेश प्रदेशका आठै जिल्लाबाट करिब २ सय २५ जना सहभागी रहेको आयोजकले जनाएको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापकको क्षमता अभिवृद्धि तथा शैक्षिक गुणस्तर सुधारलाई सम्मेलनको मुख्य उद्देश्य बनाइएको छ।
उद्घाटन कार्यक्रममा सभामुख यादवले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
दुई दिनसम्म चल्ने सम्मेलनमा शिक्षण–सिकाइका नयाँ आयाम, आधुनिक शैक्षिक विधि, प्रधानाध्यापकको भूमिका तथा जिम्मेवारीबारे प्यानल छलफल हुने जनाइएको छ। सम्मेलनमा मधेशका २२ विद्यालयका उत्कृष्ट प्रधानाध्यापक तथा शैक्षिक सुधारमा उल्लेखनीय काम गरेका उत्कृष्ट स्थानीय तहलाई सम्मान गरिने पर्सा पानका अध्यक्ष विनोद मेहताले बताए।
सम्मेलनमा मधेशका विभिन्न स्थानीय तहका प्रमुख, भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवीसहाय मीणा तथा पानका प्रदेश र जिल्ला समितिका पदाधिकारी सहभागी छन्। शनिबार साँझ ‘भोजपुरी साँझ’ सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।