पर्सा , असोज १५ –
नेपाल पत्रकार महासंघले नेपाल प्रेस काउन्सिलका चार जना बोर्ड सदस्यले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै महासंघका पूर्व लेखा समिति संयोजक दीपक पाण्डेलाई लक्षित गरी काउन्सिलको लेटरहेडमा जारी गरिएको विज्ञप्ति फिर्ता लिन माग गरेका छन्।
स्वरोजगारमूलक छापामाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती भएपछि समस्या समाधानका लागि असोज १३ गते महासंघ र प्रेस काउन्सिलबीच छलफल भएको थियो। छलफलमा सामान्य भनाभन भए पनि बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको महासंघले जनाएको छ।
तर, उक्त छलफलमा सहभागी नै नभएका काउन्सिलका चार सदस्यले व्यक्तिलक्षित विज्ञप्ति जारी गरेको भन्दै महासंघले आपत्ति जनाएको हो। यस्तो एकपक्षीय विज्ञप्तिले काउन्सिलको सन्तुलनकारी भूमिकामाथि प्रश्न उठ्ने भन्दै महासंघले विज्ञप्ति फिर्ता लिएर सहज वातावरण बनाउन आग्रह गरेको छ।
यसअघि महासंघ काठमाडौं शाखाले पनि सामान्य नोकझोकलाई अतिरञ्जित गरी अनुपस्थित सदस्यबाट जारी गरिएको विज्ञप्ति संस्थागत हो वा होइन भन्ने प्रश्न उठाएको थियो। केन्द्रीय समितिले शाखाको उक्त धारणामा सहमति जनाएको महासंघले जनाएको छ।