पर्सा , १८ असोज –
नेसनल प्याब्सन वीरगंज महानगर समिति र नेसनल प्याब्सन जिल्ला समिति, पर्साको संयुक्त आयोजनामा सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम सम्पन्न भएको छ।
वीरगंजस्थित टाउन हलमा आयोजित तालिममा वीरगञ्ज तथा पर्साका विभिन्न विद्यालयमा कार्यरत करिब १२५ जना शिक्षकको सहभागिता रहेको थियो।
सामाजिक शिक्षा विषयको शिक्षणलाई प्रभावकारी, व्यावहारिक तथा समयसापेक्ष बनाउने उद्देश्यले आयोजित तालिममा प्रभावकारी शिक्षण विधि, कक्षा व्यवस्थापन, विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि तथा विषयवस्तुलाई व्यवहारसँग जोडेर अध्यापन गर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
तालिमको सहजीकरण प्रशिक्षक मातृका लम्सालले गरेका थिए। उनले सामाजिक शिक्षा विषयलाई विद्यार्थीकेन्द्रित र व्यवहारिक ढंगले अध्यापन गर्ने विभिन्न विधिबारे शिक्षकहरूलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन जिल्ला समिति, पर्साका अध्यक्ष राम श्रेष्ठ र वीरगञ्ज महानगर समितिका अध्यक्ष सोनालाल पटेलले संयुक्त रूपमा गरेका थिए भने सञ्चालन जिल्ला समितिका सचिव प्रमोद कुमार सहनीले गरेका थिए।
कार्यक्रममा हिसानका पूर्वअध्यक्ष तथा प्रमुख अतिथि रमेश शिलवालको समेत उपस्थिति रहेको थियो।
तालिममा सहभागी शिक्षकहरूले प्रशिक्षणले आफ्नो शिक्षण शैलीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि यस्ता विषयगत तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
तालिम सफल बनाउन सहयोग गर्ने नेसनल प्याब्सन केन्द्रीय समितिका महासचिव प्रताप थापा, केन्द्रीय समिति, रिडमोर पब्लिकेसन्स तथा रिसेप नलेजप्रति आयोजकले आभार व्यक्त गरेको छ।
समापन कार्यक्रममा अध्यक्ष राम श्रेष्ठले प्रशिक्षक, सहभागी शिक्षक, सहयोगी संस्था तथा आयोजक समितिका पदाधिकारीलाई धन्यवाद ज्ञापन गरेका थिए।
नेसनल प्याब्सनले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि विषयगत तथा व्यावसायिक विकाससम्बन्धी तालिमलाई निरन्तरता दिने जनाएको छ।