राजविराज,४ असोजःसप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर टोलबाट २१ क्विन्टलभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा शनिबार मध्यराति जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयको घरमा खानतलासी गर्दा उक्त गाँजा बरामद भएको हो ।
गाँजा भण्डारण गरेको आरोपमा स्थानीय ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार सदाको घरबाट ५६ वटा पोकामा १ हजार ८ सय ३८.८७० किलोग्राम र मुखियाको घरबाट ८ वटा पोकामा २ सय ६१.५०० किलोग्राम गरी जम्मा २१ क्विन्टल ३७ किलोग्राम गाँजा बरामद गरिएको हो ।
तर, गाँजा कहाँबाट ल्याएर त्यहाँसम्म पु¥याएको तथा ओसारपसारमा अन्य को–को संलग्न रहेको भन्ने विषय खुल्न सकेको छैन ।
स्थानीयका अनुसार पक्राउ परेका व्यक्तिहरूले आर्थिक लोभमा परेर घरमा गाँजा भण्डारण गर्दै आएका थिए। प्रहरीले त्यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।