पर्सा , भदौ २८ –
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमाक्षेत्रमा संयुक्त गस्ती तथा अन्तरक्रिया गरेको छ ।
आइतबार इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मी र एसएसबीका प्रहरी निरीक्षकसहितको टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गरेको हो ।
गस्तीका क्रममा अवैध सामानको तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, चोरी तथा डकैतीलगायतका गतिविधि नियन्त्रणका विषयमा छलफल गरिएको जनाइएको छ । शंकास्पद आवतजावत तथा अवैध ओसारपसारमाथि निगरानी बढाउने विषयमा समेत सुरक्षा अधिकारीबीच अन्तरक्रिया भएको थियो ।
प्रहरी निरीक्षक अर्यालले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा निगरानी थप प्रभावकारी बनाइने बताएका छन् । उनले सीमा अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच सूचना आदानप्रदान, समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
संयुक्त गस्तीका क्रममा सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे समेत छलफल भएको सुरक्षा निकायले जनाएको छ ।