( ग्यासु मिया देवान )
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर जस्तो पदार्थसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार मिति २०८३ साल भदौ २४ गते दिउँसो करिब १ः३५ बजे, सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कारबाही गरेको हो।
कारबाहीका क्रममा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित लिंक रोडमा रहेको होटल अमन प्यालेसको कोठा नम्बर २०५ मा बसिरहेका भारतको बिहार राज्य, मोतिहारी जिल्ला अन्तर्गत रक्सौल–१३ निवासी अन्दाजी ३५ वर्षीय विशाल कुमार कुशवाहालाई नियन्त्रणमा लिइएको बताइएको छ।
उनको साथबाट अन्दाजी १३२ दशमलव ३२ ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषध, BR 05 BS 0419 नम्बरको कालो रंगको HF Discover Pro मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ ३२ हजार १ सय तथा भारतीय रुपैयाँ ४ हजार २ सय बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा गरिएको उक्त कारबाहीलाई वीरगञ्ज क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको बताइएको छ।
लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।


