बारा । वातावरण संरक्षण तथा धार्मिक–सामुदायिक क्षेत्रको सौन्दर्यीकरणलाई लक्षित गर्दै पर्सागढी नगरपालिका–५ हर्दियास्थित मन्दिर परिसरमा चौतारी पार्क निर्माण गरिएको छ।
वन डिभिजन कार्यालय पर्साको वार्षिक कार्यक्रमअन्तर्गत १६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चौतारी पार्कको उद्घाटन सवैया साझेदारी वन उपभोक्ता समितिका उपाध्यक्ष, पर्सागढी नगरपालिकाका नगरसभा सदस्य तथा पूर्ववडा अध्यक्ष असलम आलमले गर्नुभएको हो।
पार्क उद्घाटन कार्यक्रममा वातावरण संरक्षणसँगै सार्वजनिक तथा धार्मिक स्थलको संरक्षण, सरसफाइ र हरियाली प्रवर्द्धनमा यस्ता संरचनाले महत्वपूर्ण योगदान पुर्याउने बताइएको थियो।
नवनिर्मित चौतारी पार्क स्थानीयवासीका साथै मन्दिरमा आउने श्रद्धालुहरूका लागि विश्रामस्थलका रूपमा समेत उपयोगी हुने अपेक्षा गरिएको छ। धार्मिक स्थलको वातावरणलाई थप आकर्षक र व्यवस्थित बनाउन पार्कले सहयोग पुग्ने स्थानीयको भनाइ छ।
पार्क निर्माण तथा उद्घाटन कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशप्रसाद यादव, आमोदिन हवारी, वीरेन्द्र तिवारी, मनमोध यादवलगायत स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सार्वजनिक स्थलको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपण, सरसफाइ र हरियाली प्रवर्द्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।