वीरगंज, असोज १४ –
वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट २१ करोड रुपैयाँले घटाएर संशोधन गरेको छ। बुधबार सम्पन्न २१औँ विशेष नगरसभाले ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट बहुमतले पारित गरेको हो।
यसअघि असार १० गते सम्पन्न २०औँ नगरसभाले ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट पारित गरेको थियो। मेयर राजेशमान सिंह निलम्बनमा रहेका बेला तत्कालीन कार्यवाहक मेयर तथा उपमेयर इम्तियाज आलमको अध्यक्षतामा उक्त बजेट ल्याइएको थियो।
विशेष अदालतबाट सफाइ पाएपछि असोज ३ गते पुनः पदभार ग्रहण गरेका मेयर सिंहले बजेट संशोधन गर्दै आकार घटाएका हुन्। उनका अनुसार आन्तरिक राजस्वमा आएको संकुचन, वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट अपेक्षाअनुसार स्रोत प्राप्त हुन नसक्नु र अनिवार्य चालु खर्च बढ्नुका कारण बजेट संशोधन गरिएको हो।
संशोधित बजेटमा चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार, पुँजीगततर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
नगरसभामा मेयर सिंहले बीपी उद्यानलाई थप व्यवस्थित गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, ‘उज्यालो वीरगंज’ अभियानलाई निरन्तरता दिने तथा सडक र खुला क्षेत्रमा हरियाली र पार्क विस्तार गर्ने योजना प्रस्तुत गरे। भोजपुरी भाषा, संस्कृति र साहित्य संरक्षण, स्वास्थ्य सेवा विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यमा नगर बस सञ्चालन गर्ने योजना पनि उनले अघि सारे।
यसैबीच, नेपाली कांग्रेस पर्साले आफ्ना जनप्रतिनिधिलाई विशेष नगरसभामा सहभागी नहुन ह्विप जारी गरेको थियो। उपमेयर इम्तियाज आलमसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू नगरसभामा अनुपस्थित रहे।
तर, १५६ नगरसभा सदस्यमध्ये ११८ जना सहभागी भएपछि आवश्यक बहुमत पुगेको थियो। उपस्थित सदस्यहरूको बहुमतले मेयर सिंहले प्रस्तुत गरेको संशोधित बजेट पारित गरेको उनका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए।