वीरगंज , भदौ २१ –
वीरगंजका उद्योगी अनिल छपोलियाका छोरा अनमोल साहलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा बिहीबार पक्राउ परेका साहलाई अदालतमा पेश गरिएको थियो । अदालतबाट धरौटीमा रिहा भएका उनलाई सोही मुद्दामा अर्को व्यक्तिले दिएको उजुरीका आधारमा पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले बताए ।
यसअघि वीरगंज महानगरपालिका–१७ निवासी सुनिता देवीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा साहविरुद्ध पक्राउ आदेश जारी भएको थियो ।
जाहेरीअनुसार साहले पर्साको साविक बहुअर्वाभाठा गाविस–९ स्थित जग्गा तथा शिवलोक खाद्य उद्योग खरिद गर्ने भन्दै विभिन्न प्रलोभन देखाई बिक्रीसम्बन्धी कागजमा हस्ताक्षर तथा औँठाछाप गराएको आरोप छ ।
सोही विषयमा सुनिता देवीले पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । धरौटीमा छुटेका साहविरुद्ध सुनिता देवीका श्रीमान्ले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा समेत मुद्दा दायर गरेका थिए । उच्च अदालतको आदेशपछि साहलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साह हाल हिरासतमा छन् । उनलाई छुटाइदिने भन्दै एक समूहले परिवारसँग रकम माग गरेको सूचना समेत प्राप्त भएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।