महोत्तरी , भदौ २७ –
महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा शौचालयको सेफ्टी ट्यांकीभित्र टुक्राटुक्रा अवस्थामा एक युवकको शव फेला परेको छ ।
मृतक भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरीले जनाएको छ । उनको शव अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीभित्र फेला परेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सरदारको हत्या अनैतिक प्रेम सम्बन्धका कारण भएको हुनसक्ने आशंका गरिएको छ । एक प्रहरी अधिकारीका अनुसार सरदारको छिमेकी टोलमा माइत रहेकी उक्त घरकी महिलासँग हिमचिम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार युवकलाई बोलाएर हत्या गरी शव टुक्राटुक्रा पारेपछि सेफ्टी ट्यांकीमा राखेर माथिबाट प्लास्टर गरिएको हुनसक्ने देखिएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।