बारा , असोज ४ –
निजगढ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नदीजन्य पदार्थ बिक्री–वितरण शुल्कको ठेक्का सूचना सच्याएर पुनः प्रकाशित गरेको छ। पहिलो सूचनामा ठेक्का रकम अङ्क र अक्षरमा फरक परेपछि नयाँ सूचना जारी गरिएको हो।
नगरपालिकाले बकैया, धन्सार, लाल भक्तलाल र बगर खोलाबाट ८१ लाख ६० हजार ३९८.६० घनफिट नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलनका लागि भ्याटबाहेक न्यूनतम ८ करोड १६ लाख ३ हजार ९८६ रुपैयाँ ठेक्का रकम तोकेको छ।
स्वीकृत वातावरणीय परीक्षण प्रतिवेदनअनुसार दैनिक अधिकतम ३०० घनमिटर र ०.९४ मिटर गहिराइसम्म मात्र उत्खनन गर्न पाइनेछ। उत्खनन सामग्री अनिवार्य घाटगड्डी गरी प्राविधिक नापजाँचपछि मात्र बिक्री तथा ढुवानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैबीच, वन क्षेत्रमा अनुमति नलिई नदीजन्य पदार्थ थुपारेर ढुवानी गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराले एक एक्साभेटर र दुई टिपर नियन्त्रणमा लिएको छ। कार्यालयका अनुसार ती सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समिति बारामा बुझाइएको छ।