पर्सा , भदौ २७ –
नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ । फाइनलमा यूएईलाई ४४ रनले हराउँदै नेपालले उपाधिसँगै अर्को वर्ष हुने एकदिवसीय एसिया कपमा स्थान पक्का गरेको छ ।
मलेसियाको वायुमासमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले १०६ बलमा १०२ रनको शतकीय पारी खेले । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो ।
अर्जुन कुमालले ४३, गुल्सन झाले ५२, रोहित पौडेलले ४० तथा इशान पाण्डेले १३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १८, सन्दीप जोराले ७ र बसीर अहमदले अविजित १५ रन जोडे । यूएईका इब्रार अहमदले चार विकेट लिए ।
३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९ ओभर १ बलमा २६९ रनमा अलआउट भयो । यूएईलाई रोक्दै नेपालले ४४ रनको जित निकालेको हो ।
नेपालले यसअघि सन् २०२३ मा पनि यूएईलाई फाइनलमा हराउँदै एसिया कपमा स्थान बनाएको थियो । आगामी एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टोलीसँग खेल्ने अवसर पाउनेछ ।