जनकपुरधाम , असोज १ —
डेढ वर्षअघि जनकपुरका दुई होटलमा १९ दिनसम्म बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोप लागेका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन्।
२३ वर्षीय राइनलाई भदौ २६ गते धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटना भएपछि कतार भागेका राइनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो।
घटना २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्। पीडितको बयानका आधारमा पक्राउ परेका कवारीलाई अदालतले सोमबार धरौटीमा छाड्ने आदेश दिएको थियो।
धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुरका होटलमा लगेर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा राइनसहित करिब एक दर्जनविरुद्ध दुईवटा मुद्दा दर्ता छन्। घटनामा दुई प्रहरीसमेत संलग्न रहेको आरोप छ भने अधिकांश अभियुक्त अझै फरार छन्।
पीडित बालिकाले ३ जेठ २०८२ मा प्रहरीमा जाहेरी दिए पनि समयमा सुनुवाइ नभएको र त्यसपछि मुख्य अभियुक्त राइन विदेश भागेको विवरण मुद्दाको मिसिलमा उल्लेख छ। पछि १७ असार २०८२ मा बालिका पुनः अपहरणमा परेकी थिइन्।
जनकपुरका दुई होटलमा गरी १९ दिन बन्धक बनाएर जबरजस्ती करणी गरिएको आरोप छ। चौतर्फी दबाब र सुरक्षाको कारण बालिका हालसम्म सेफ हाउसमा रहेको जनाइएको छ।