वीरगंज , भदौ २४ –
पर्सा प्रहरीले ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बुधबार दिउँसो वीरगंज महानगरपालिका–२१ परवानीपुर चोकमा चेकजाँच गर्ने क्रममा भारततर्फको नम्बर प्लेट भएको कारबाट उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। जितपुरबाट वीरगंजतर्फ आउँदै गरेको डिएल २२ सिएल १९८४ नम्बरको कारको चालक सिटमाथि प्लास्टिकमा लुकाइराखेको अवस्थामा पदार्थ फेला परेको हो।
प्रहरीले भारत बिहार, पूर्वी चम्पारण, रक्सौल पुरैनिया लोहडिया–५ का ३१ वर्षीय दिनेश प्रसादलाई नियन्त्रणमा लिएको छ। बरामद पदार्थ र कारसहित उनलाई नियन्त्रणमा लिएर खरिद–बिक्री तथा ओसारपसारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साभार:
घण्टाघर टिभी