वीरगंज , भदौ २२-
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले ६ दिनको म्याद थप गरेको छ ।
वीरगंजको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट पक्राउ परेका उनीहरूमाथि गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । तर पक्राउ परेकाहरू क्यासिनोमा जुवा खेल्न नभई अन्य प्रयोजनका लागि पुगेको लगायतका दाबी सार्वजनिक भएका छन् ।
अध्यक्ष यादवले आफू जुवा खेल्न क्यासिनो नगएको र प्रहरी निरीक्षक पौडेलको फोनपछि मात्रै त्यहाँ पुगेको दाबी गरेका छन् । उनी पुगेको करिब १९ मिनेटमै क्यासिनोमा छापा परेको विषयसमेत सार्वजनिक भएको छ ।
प्रहरीले भने घटनासँग सम्बन्धित सीसीटीभी फुटेज, कल डिटेल रेकर्ड, पक्राउको समय तथा उनीहरूको गतिविधिलगायत प्रमाणको विश्लेषण गरी अनुसन्धान भइरहेको जनाएको छ । प्राप्त प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।