वीरगंज , भदौ २२ –
सडक डिभिजन कार्यालय हेटौंडाले वीरगंजको मुख्य सडक फराकिलो बनाउने अभियानअन्तर्गत अन्तिम चरणको नापजाँच शुरू गरेको छ । गण्डकचोकदेखि मितेरीपुलसम्म सडक क्षेत्र विस्तारका लागि बाँकी अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
गत वैशाख ६ गते प्रारम्भिक नापजाँच गरिएको थियो । सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने लक्ष्य रहे पनि विभिन्न स्थानमा २२ देखि २३ मिटरसम्म मात्र क्षेत्र खाली गरिएको थियो ।
तोकिएको समयभित्र बाँकी संरचना नहटाइएपछि कार्यालयले शनिवारदेखि पुनः नापजाँच गरी अतिक्रमित क्षेत्र खाली गराउने प्रक्रिया थालेको जनाएको छ । अधिकांश निजी तथा व्यावसायिक संरचना हटाइसकिएको भए पनि नेपाली सेनाको ब्यारेक, वीरगंज महानगरपालिकाको प्रयोगशाला, प्रहरी कार्यालय तथा केही मन्दिर र मस्जिदका संरचना हटाउन बाँकी रहेका छन् ।
सम्बन्धित निकायसँग समन्वय गरी बाँकी संरचना व्यवस्थापन गर्दै सडक विस्तारको काम अघि बढाइने कार्यालयले जनाएको छ ।
सभार // प्रतिक दैनिक