वीरगंज, कार्तिक २४ –
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर ५ बलमा ९३ रनमै समेटिएपछि सुदूरपश्चिमले जित निकालेको हो। जनकपुरका तृतराज दासले सर्वाधिक २१ र जिमी निसमले २० रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। उसका ब्रान्डन म्याकमुलेनले ३३ र थरिन्दु रत्नायकेले अविजित २७ रन बनाए। जनकपुरका कप्तान हरमीत सिंहले चार विकेट लिए।
यस जितसँगै ६ खेलमा ८ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक रहेको काठमाडौं गोर्खाज रनरेटका आधारमा शीर्ष स्थानमा छ भने ४ अंकसहित जनकपुर पाँचौँ स्थानमा रहेको छ।