वीरगंज, २१ कात्तिक । पर्साको जगरनाथपुर गाउँपालिकामा ‘जनतासँग संवाद, दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान एवं पार्टी प्रवेश कार्यक्रम’ सम्पन्न भएको छ। जगरनाथपुर गाउँपालिका वडा नम्बर-३,खलुचडी निवासी साधुसन्त राउत गद्दीको अध्यक्षतामा उक्त विशेष कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा पर्सा-४ का सांसद टेकबहादुर शाक्य र विशिष्ट अतिथिको रूपमा निजामुदिन समानीको उपस्थिति रहेको थियो।
चाडपर्वको शुभकामना आदान–प्रदानसँगै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरू रास्वपा पार्टीमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी मुस्लिम संघका पर्सा जिल्ला अध्यक्ष नबिआलम राउत गद्दी आफ्नो पद र पार्टी परित्याग गरी प्रवेश गरेका छन्।
त्यसैगरी, नेकपा (एमाले) का तर्फबाट पूर्व गाउँपालिका एकाई अध्यक्ष तबरेज अन्सारी, एमालेका जिल्ला सदस्य जिलाजित राउत गद्दी र पूर्व बैंकर तथा समाजसेवी फिरोज अन्सारीसहित करिब ३०० जनाभन्दा बढी कार्यकर्ताहरू एमाले र जसपा नेपाल परित्याग गरी पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई प्रमुख अतिथि सांसद टेकबहादुर शाक्य लगायतका नेताहरूले अबिर र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।