पर्सा, मंसिर ९ –
नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिकाका सभापति तथा युवा नेता विवेक चौरसियाले आफू चुनावका बेला मात्रै प्यारासुटबाट उत्रिएर आउने नेता नभएको बताएका छन्।
घण्टाघर टिभीमा पत्रकार राधेश्याम पटेलसँग कुरा गर्दै चौरसियाले आफू २०७९ सालको स्थानीय तह निर्वाचनमा पराजित भए पनि निरन्तर जनताको बीचमा रहेर काम गर्दै आएको बताए।
उनले कतिपय नेताहरू चुनावको समयमा मात्रै जनतामाझ आउने र चुनाव जिते ठीकै, नजिते फेरि हराउने गरेको बताउँदै आफू हारे पनि वा जिते पनि जनताको काममा निरन्तर लागिरहेको बताए।
अब हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने बताउँदै चौरसियाले जनताले आफ्नो मतमार्फत आफूलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे।
उनले बदलिँदो परिस्थितिसँगै नेपाली कांग्रेस पनि बदलिएको भन्दै अब नयाँ र पुराना भन्नेभन्दा पनि विचारको कुरा गर्नुपर्नेमा जोड दिए।
आफ्नो परिवार पुर्ख्यौली समयदेखि नै नेपाली कांग्रेसमा आबद्ध रहेको बताउँदै चौरसियाले यसपटक पनि पार्टीले आफूलाई टिकट दिने विश्वास व्यक्त गरे।
विगतदेखि नै जनताको माझमा बसेर काम गर्दै आएको र अब जनताले त्यसको प्रतिफल दिनेमा आफू आशावादी रहेको चौरसियाले बताए।