वीरगंज , मंसिर ११ –
पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पाँचगाँवास्थित दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित समारोहमा चन्दादाता परिवारका सदस्य तथा पूर्वमन्त्री मोहनलाल चौधरीले कार्यक्रमको उद्घाटन गरेका हुन्।
कार्यक्रमको सुरुवात विद्यालयका संस्थापक दीपनारायण थारु र उनका नाति पूर्वमन्त्री मोहनदास थारुको विद्यालयअगाडि निर्माण गरिएको सालिकमा माल्यार्पण गरी गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले आफ्ना हजुरबुवाले विद्यालय स्थापना गरेर समाजमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले मदर टेरेसाले सामाजिक सेवामार्फत विश्वभर आफ्नो पहिचान स्थापित गरेझैँ आफ्ना हजुरबुवाले शिक्षा क्षेत्रमा गरेको योगदानले आज पनि परिवारलाई यस क्षेत्रसँग जोडेर चिनाएको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री नागेन्द्र चौधरी, संविधानसभा सदस्यद्वय जयप्रकाश थारु र रामचन्द्र शाह तेली, सिन्धुपाल्चोक जिल्ला अदालतकी न्यायाधीश रिता बख्रेल, पूर्वप्रधानाध्यापक बद्रीनारायण मिश्र, रामचन्द्र प्रसाद ओझैयालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वार्षिकोत्सवका अवसरमा विद्यालयबाट २०३६ सालदेखि हालसम्म एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै विभिन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्वहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू अहिले चिकित्सा, इन्जिनियरिङ, शिक्षण, पत्रकारिता, कानुन व्यवसाय, उद्योग तथा व्यापारलगायतका क्षेत्रमा स्थापित हुन सफल भएको विषयलाई कार्यक्रममा गौरवका साथ स्मरण गरिएको थियो। सोही अवसरमा सञ्चारकर्मीहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक राजकपूर चौधरीले गरेका थिए।
विद्यालयको ५५औँ वार्षिकोत्सवले संस्थापकको शैक्षिक योगदानको स्मरण गर्नुका साथै विद्यालयसँग जोडिएका पूर्वविद्यार्थी, शिक्षाप्रेमी तथा समाजसेवीहरूलाई सम्मान र विद्यालयको आगामी विकासका लागि सामूहिक सहकार्यको सन्देश दिएको छ।
विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरीले विद्यालयको इतिहास, उन्नति प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।