वीरगञ्ज – नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले घोषणा गरेको देशव्यापी आन्दोलनका कार्यक्रमअनुसार महासंघ पर्साले बुधबार जिल्ला प्रशासन कार्यालय पर्साअगाडि विरोध प्रदर्शन गरेको छ। मिडियाप्रति सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ पर्साले विरोध प्रदर्शन गरेको जनाएको छ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा आयोजित विरोध प्रदर्शनमा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बिहान ११ः३० बजे जिल्ला प्रशासन कार्यालय पर्साको परिसरअगाडि आयोजित प्रदर्शनका क्रममा पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहितको ब्यानर प्रदर्शन गरेका थिए। उनीहरूले मिडियाप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पत्रकारिता क्षेत्रको स्वतन्त्रता, पेसागत सुरक्षा तथा सञ्चारकर्मीहरूको अधिकारको पक्षमा आवाज उठाएका थिए।
महासंघले केन्द्रीय समितिले घोषणा गरेको आन्दोलनलाई जिल्लास्तरसम्म प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले विरोध प्रदर्शन आयोजना गरेको जनाएको छ।
सरकारको मिडियाप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सुरु गरिएको आन्दोलनलाई सशक्त बनाउन पर्साका पत्रकारहरू एकजुट भएर प्रदर्शनमा सहभागी भएका थिए। महासंघले पत्रकारिता क्षेत्रका समस्या तथा सञ्चारकर्मीका अधिकारसम्बन्धी मागप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ।