रौतहटमा , मंसिर १२ –
रौतहटको परोहा नगरपालिका–३ तेजापाकडमा १५ वर्षीया नाबालिग बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपमा ४५ वर्षीय मौलाना मुख्ती मिनाहाज प्रहरी हिरासतमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय गौरले उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्राप्त जानकारीअनुसार आरोपित मिनाहाजका यसअघि नै श्रीमती र आठ जना छोराछोरी रहेका छन्। घटना सार्वजनिक भएपछि स्थानीयवासीले विरोध गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
यसैबीच, घटनालाई ढाकछोप गर्न राजनीतिक दबाब र आर्थिक चलखेल भइरहेको आशंकासमेत सार्वजनिक भएको छ।
सम्बन्धित मदरसामा करिब छ महिनाअघि पनि यस्तै प्रकृतिका तीन घटना भएको दाबी गरिएको छ। ती आरोपहरूको समेत सत्यतथ्य छानबिन गरी पीडित बालिकाको सुरक्षा र न्याय सुनिश्चित गर्न स्थानीयवासीले माग गरेका छन्।