पर्सा , मङ्सिर ६ –
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमै कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले ५४ बलमा अविजित १२५ रन बनाए भने विनोद भण्डारीले २७ बलमा अविजित ३० रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका दिलीप नाथले अविजित ३९, रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन बनाए।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिम यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। तेस्रो प्रयासमा भने टोली उपाधि जित्न सफल भएको हो।