पर्सा , कार्तिक २३ –
जिल्ला प्रहरी कार्यालय पर्साले करिब ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाका तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले कात्तिक १९ गतेदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम, झिरझिरे लगायतका ११ प्रकारका पटाका बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बरामद गरिएका पटाका तथा आतिशबाजीजन्य पदार्थको अनुमानित मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ।
प्रहरीले पटाका तथा विस्फोटकजन्य पदार्थको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोग कानुनद्वारा निषेधित रहेको जनाएको छ।
यस्ता पदार्थको प्रयोगले जनधनको क्षति, आगलागी तथा वातावरण प्रदूषणको जोखिम निम्त्याउने भन्दै प्रहरीले पटाका प्रयोग नगर्न र बालबालिकालाई यस्ता गतिविधिबाट टाढा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।