जनकपुरधाम । आसमान नेपालको २५औँ वार्षिक साधारण सभा तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम जनकपुरधामस्थित होटल मसला कटेजमा आइतबारदेखि सुरु भएको छ।
कार्यक्रममा आसमान नेपालले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न परियोजना तथा कार्यक्रमको वार्षिक प्रगति, उपलब्धि, चुनौती र सिकाइबारे विस्तृत समीक्षा गरिएको छ। साथै आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम, रणनीति, प्राथमिकता तथा कार्ययोजनामाथि समेत छलफल भइरहेको छ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव राजकुमारले तथा आर्थिक प्रतिवेदन कार्यकारी निर्देशक नवलकिशोरी यादवले प्रस्तुत गरेका थिए। विभिन्न परियोजनाका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो परियोजनाको प्रगति, लक्षित समुदायमा परेको प्रभाव, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे प्रस्तुति दिएका थिए।
आसमान नेपालका अध्यक्ष रामप्रवेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा धनुषा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा आसमान नेपालका कार्यक्रम प्रमुख दिनेश्वर साह, प्लान इन्टरनेसनलकी रिया, स्टिल चाइल्डका प्रतिनिधि विवेक झा, परस्पर ग्लोबलका प्रतिनिधि सञ्जित श्रेष्ठ, मनु न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा वक्ताहरूले संस्थाले शिक्षा, बाल संरक्षण, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण, महिला सशक्तीकरण, सुशासन तथा मानवीय सहायता लगायतका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा कार्यक्रमको प्रभावकारिता र दिगोपनामा थप ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
संस्थाका कोषाध्यक्ष रेखा यादवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अस्मिता खनाल र पूजा मिश्राले सहजीकरण गरेका थिए। कार्यक्रममा संस्थाका बोर्ड सदस्य, साधारण सदस्य, विभिन्न परियोजनाका प्रमुख, कर्मचारी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको छ।
आसमान नेपालले वार्षिक साधारण सभा तथा प्रगति समीक्षा कार्यक्रमलाई विगत एक वर्षका गतिविधि, उपलब्धि र सिकाइको मूल्याङ्कन गर्दै आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
कार्यक्रमअन्तर्गत सोमबार संस्थाको नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ।