बारा , भदौ २९ –
जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा बारा जिल्ला अदालतले प्रतिवादीहरूलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिएपछि कलैयामा विरोध प्रदर्शन भएको छ ।
आइतबार जेनजी एन्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा युवाहरूले जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको निवासअगाडि तथा भरतचोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘गरिमालाई न्याय देऊ’, ‘कानुन संशोधन गर’ लगायतका नारा लगाउँदै कलैया बजारसमेत परिक्रमा गरेका थिए ।
गत बिहीबार न्यायाधीश अधिकारीको इजलासले मुख्य प्रतिवादी भनिएका प्रोग्रेश उर्फ पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटी माग गरेको थियो । अन्य नौ प्रतिवादीलाई भने पर्याप्त प्रमाण नदेखिएको भन्दै साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने आदेश दिएको थियो ।
घटनामा संलग्न भनिएका दुई नाबालकलाई भने वीरगंजस्थित बाल सुधार गृह पठाइएको छ । अदालतले उपलब्ध प्रमाणका आधारमा तत्काल अन्य प्रतिवादीलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरेको छ । बालिका साउन ३१ गतेदेखि हराएकी थिइन् भने भदौ २ गते उनको शव फेला परेको थियो ।