बारा , असोज ९ –
बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ।
स्थानीय श्याम रामका छोरा आकाश रामलाई शुक्रबार दिउँसो करिब १२ बजे आफ्नै घरमा टिभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले बाटोमै मृत्यु भइसकेको बताएका थिए।
करेन्ट लागेपछि बालकलाई छुट्याउन खोज्दा उनकी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया, १२ वर्षीया दिदी निलम राम तथा स्थानीय ४० वर्षीया फुलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा पनि घाइते भएका छन्।
घाइतेमध्ये ऐतबरिया, फुलकुमारी र अनिता तामागढी अस्पताल कोल्हवी तथा निलम राम सिटी अस्पताल कोल्हवीमा उपचाररत छन्। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सविनकुमार कार्कीको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।