Menu

आजको मौसम

१० करोडको सम्पत्ति २ करोडमै लिलाम

Author
News Feed |
November 24, 2026
Featured

काठमाडौँ । ऋणीको जग्गा लिलामी तथा नामसारीको विषयलाई लिएर प्रभु बैंक र ऋणीबिच विवाद उत्पन्न भएको छ । प्रभु बैंकले करिब १० करोडको सम्पत्ति २ करोडमै लिलामी गरेको आरोप लागेको हो ।

मोरङको रङ्गेलीस्थित प्रभु बैंकको शाखा कार्यालयले ऋणीलाई जानकारी नै नदिई करिब १० करोड रुपैयाँ बजार मूल्य पर्ने जग्गा २ करोड ५ लाख रुपैयाँमा लिलामी गरिदिएपछि ऋण र बैंकबीचको विवाद उत्कर्षमा पुगेको हो ।

रङ्गेली नगरपालिका–७ का विक्रम मण्डलले बैंकका कर्मचारीहरूको मिलेमतोमा आफ्नो बहुमूल्य सम्पत्ति कौडीको भाउमा हडपिएको भन्दै न्यायको माग गरेका छन् ।

उनका अनुसार मण्डलले सिद्धार्थ हस्पिटल सञ्चालनका लागि २०७७ सालमा प्रभु बैंकबाट १ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए । जसमध्ये १ करोड ३० लाख रुपैयाँको उपकरण खरिद गरिएको थियो भने बाँकी रकम नगद र अन्य व्यवस्थापनकारुपमा लिएका थिए ।

ऋण लिएर अस्पताल सञ्चालन गरे पनि सोचे अनुसार अस्पताल चल्न सकेन । त्यसपछि उनले थप लगानी गरिदिन बैंकलाई आग्रह गरे । बैंकले पनि केही थप लगानी गरिदिने भन्यो तर, बैंकले आश्वासन दिएअनुसार थप लगानी नगर्दा उनी समस्यामा परे ।

‘अस्पताल चलाउन समस्या भयो । थप २५ लाखजति बैंकले दिए अस्पताल सञ्चालन गर्न सहज हुने थियो भनेर बैंकसंग माग गरे । बैंकले शुरुमा दिन्छु भन्यो पछि फेरि दिएन’, उनले भने, ‘थप ऋण दिने भनेको बैंकले ऋण नै नदिई एक्कासी लिलामी सूचना जारी गरिदियो । जग्गा बेचेर भए पनि ऋण तिर्छु भन्दा पनि बैंकले मानेन ।’

सोचेअनुसार अस्पताल सञ्चालन गर्न नसकेका मण्डल ऋण तिर्नकै लागि जग्गा बेच्ने तयारीमा लागे । जग्गा बिक्री गर्छु भन्दा मण्डललाई सुरुमा बैंकले सहमति दिए पनि पछि सुइँकोसमेत नदिई गोप्य रूपमा जग्गा लिलाम गरिदिएको उनको आरोप छ ।

पीडित मण्डलले आफू ऋण चुक्ता गर्न तयार हुँदाहुँदै बैंकले हेमनारायण शाहको नाममा २ करोड ५ लाख रुपैयाँमै नामसारी गरिदिएको उनको दाबी छ ।

‘सुरुमा ऋण तिर्न सकिन । जग्गा बेच्न खोज्दा पनि पाइन, पछि मैले जसोतसो गरेर ऋण तिर्नका लागि पैसा तयार पारेको थिए । तिर्छु भन्दा पनि बैंकले लिन मानेन, अहिले मेरो जग्गा अर्कैको नाममा नामसारी भइसकेछ’, उनले भने ।

अहिले उनको परिवार न्यायको खोजीमा बैंकको कार्यालय, प्रहरीदेखि अदालतसम्म धाइरहेको छ । यसबारे प्रहरीले दुवै पक्षलाई राखेर समेत छलफल गराएको थियो । छलफलका पीडितकी बहिनीमाथि बैंक परिसरमै हातपात भएको र बैंकको नियत ठिक नभएको भन्दै छानबिनको माग मण्डलले गरेका छन् ।

तर, बैंकका रंगोली शाखा कार्यालयका प्रमुख प्रसन्न भण्डारी भने बैंकले सबै प्रक्रिया पूरा गरेर मात्रै जग्गा लिलामी गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘जानकारी नै नभई लिलामी गर्ने भन्ने नै हुँदैन । बैंकले सबै जानकारी ऋणीलाई दिएर नै प्रक्रिया पुरा गरेर नै लिलामी गरेको हो ।’

उनका अनुसार २०८२ साल असार २३ गते सात दिने सूचना निकालेर लिलामीमा गएको हो । जस अनुसार नै मण्डलको जग्गा लिलामी भएको र अर्को व्यक्तिले खरिद गरेको उनको दाबी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3