सर्लाही , मङ्सिर ५ –
सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरस्थित मुखिया चोकमा सुतिरहेका वृद्ध दम्पतीमाथि इँट्टा प्रहार गरी घाइते बनाउने घटनामा एक जनाको मृत्यु भएको छ।
गत कात्तिक २७ गते राति आफ्नै घरमा सुतिरहेका ७४ वर्षीय वासुदेव साह तेली र उनकी ७३ वर्षीया पत्नी जिवछी देवीमाथि स्थानीय १९ वर्षीय शंकर कुमार यादवले इँट्टाको टुक्राले टाउको तथा अनुहारमा प्रहार गरेका थिए।
गम्भीर घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। उपचारकै क्रममा मंसिर ३ गते वासुदेवको मृत्यु भएको प्रहरीले जनाएको छ भने उनकी पत्नीको उपचार जारी छ।
घटनापछि फरार रहेका यादवलाई प्रहरीले कात्तिक २८ गते आफ्नै घरबाट पक्राउ गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गाँजा किनबेचका क्रममा उत्पन्न विवादका कारण उनले वृद्ध दम्पतीमाथि आक्रमण गरेको खुलेको छ।
मृत्युपछि पक्राउ परेका यादवविरुद्ध ज्यानसम्बन्धी कसुर र ज्यान मार्ने उद्योगमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।