वीरगंज , मङ्सिर ५ –
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराको पदस्थापन भएको ६ महिना नपुग्दै सरुवा भएको छ। सरकारले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्दै उनको स्थानमा अर्थ मन्त्रालयमा कार्यरत सहसचिव निर्मल ढकाललाई पठाएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव वा सोसरहका ३२ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बोहराको जिम्मेवारी हेरफेर गरिएको हो।
महानगरपालिकाभित्र देखिएको प्रशासनिक विवाद, खरिद तथा भुक्तानी प्रक्रियामा पारदर्शितासम्बन्धी प्रश्न र निवासमै भएको भनिएको आक्रमण प्रयासपछि बोहरा महानगर फर्किन अनिच्छुक रहँदै आएका थिए।
मध्यरातमा केही व्यक्तिले आफ्नो निवासमा प्रवेश गरी आक्रमणको प्रयास गरेको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय पर्सामा चार जनाविरुद्ध उजुरीसमेत दिएका थिए। तर, घटनामा कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा मिलापत्रका लागि दबाब दिइएको उनको असन्तुष्टि थियो।
त्यस्तै, महानगरपालिकाभित्र विकास निर्माणका योजना, उपभोक्ता समितिमार्फत भएका काम तथा भुक्तानी प्रक्रियामा राजनीतिक र प्रशासनिक दबाब आउने गरेको विषयले पनि विवाद सिर्जना गरेको बताइएको छ।
बोहराको सरुवासँगै वीरगंज महानगरपालिकाको प्रशासनिक नेतृत्वमा नयाँ सहसचिव ढकाल आउने भएका छन्। यसैबीच सरकारले हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई पनि अर्थ मन्त्रालयमा सरुवा गरेको छ। उनको स्थानमा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्मालाई पठाइएको छ।