वीरगंज । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न मधेश प्रदेशस्तरीय जुडो छनौट प्रतियोगितामा ६ स्वर्ण र १ रजत पदक जित्दै पर्सा जिल्ला टिम च्याम्पियन बन्न सफल भएको छ । मधेश खेलकुद परिषद्को आयोजना तथा मधेश प्रदेश जुडो संघको सहकार्यमा धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा मंसिर ४ र ५ गते उक्त छनौट प्रतियोगिता सम्पन्न भएको हो ।
टिम प्रशिक्षक अर्जुन पटेलको प्रशिक्षणमा मैदानमा उत्रिएका पर्साका खेलाडीहरूले विभिन्न तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै वर्चस्व कायम गरेका छन् । प्रतियोगिताको ६० केजी तौल समूहमा राहुल कुमार साह प्रथम भई स्वर्ण पदक जित्न सफल भए भने सोही समूहमा श्री राम कुमार साह द्वितीय हुँदै रजत पदकमा चित्त बुझाए ।
त्यसैगरी, ६६ केजी तौल समूहमा सुरज कुमार यादव, ७३ केजीमा अजय राम, ८१ केजीमा आर्यन कुमार पटेल, ९० केजीमा राजबाबु कुमार पटेल र १०० केजी तौल समूहमा हिमानसु गुप्ताले प्रथम स्थान हासिल गर्दै पर्साका लागि स्वर्ण पदक थपेका छन् ।
मधेश प्रदेश तथा पर्सा जुडो डोजोका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री पृथ्वी आलोक कुशवाहाका अनुसार छनौट प्रतियोगिताका विजेता सबै खेलाडीहरूले कर्णाली प्रदेशमा आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म आयोजना हुन गइरहेको बृहत १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय खेलकुद अन्तर्गत जुडोतर्फका प्रतिस्पर्धाहरू भने कर्णाली प्रदेशको सल्यानस्थित श्रीनगरमा मंसिर १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ ।
‘खेली मधेश, जिती मधेश’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको समापन समारोह मधेश खेलकुद परिषद्का सदस्य सचिव शिव जी गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जुडोका प्रमुख प्रशिक्षक बिरेन्द्र रजित र मधेश खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका निर्देशक भरत यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए । यस्तै, परिषद्का बोर्ड सदस्यद्वय जितेन्द्र यादव र लव कुमार लगायतको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।